▶
तथ्याङ्क बोल्नुपर्छ (DMS) नेपाल – Data Must Speak (DMS) Nepal
नेपालले शिक्षामा उल्लेखनीय प्रगति गरेको छ । हाल करिब ८० लाख बालबालिका विद्यालयमा भर्ना भएका छन्। यो उपलब्धि दुर्गम हिमाली गाउँदेखि व्यस्त तराईसम्म, सबै समुदायमा फैलिएको छ। जहाँ १०० भन्दा बढी भाषा बोलिन्छ । तर पहुँच मात्र पर्याप्त छैन। कक्षा १ मा भर्ना हुने बालबालिका मध्ये आधा बालबालिकामात्र कक्षा १ कालागि तयार छन् । तेस्रो कक्षाका दुईतिहाइ विद्यार्थीहरूले नेपाली पढ्न सक्दैनन्, र पाँचौं कक्षासम्म पुग्दा आधा मात्र अपेक्षित स्तरमा पढ्न सक्छन्। आधारभूत सीप बिना, बालबालिकाले अन्य विषय सिक्न संघर्ष गर्छन्, र पाँच जनामध्ये एक मात्रले पूर्ण शिक्षा चक्र पूरा गर्छ।
“तथ्याङ्क बोल्नुपर्छ" (DMS) परियोजना युनिसेफ र नेपालको शिक्षा तथा खेलकूद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, र शैक्षिक गुणस्तर परीक्षण केन्द्र बीचको साझेदारी हो । DMS परियोजनाले समान परिस्थिति र स्रोतसाधनमा सञ्चालन भइरहेका विद्यालयहरूमध्ये पनि अपेक्षाभन्दा राम्रो नतिजा हासिल गर्ने ‘सकारात्मक रूपमा विशिष्ट’ (Positive Deviant) विद्यालयहरूको व्यवहार र अभ्यासहरू बुझ्न खोज्छ। यस्ता विद्यालयहरूमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च हुने, विद्यालयमा टिकाइदर राम्रो हुने तथा समता र समावेशिता बढी देखिन्छ। अनुसन्धानकर्ताहरूले उपलब्ध तथ्याङ्कको विश्लेषण गरी यस्ता विद्यालयहरू पहिचान गर्छन् र त्यसपछि उनीहरूलाई प्रभावकारी बनाउने अभ्यास, रणनीति र कार्यपद्धतिको अध्ययन गर्छन्।
सकारात्मक रूपमा विशिष्ट’ (Positive Deviant) विद्यालयहरूलाई पहिचान गरी तिनको अध्ययन गर्दा, DMS ले राम्रो नतिजा हासिल गर्न महँगा वा जटिल उपायहरू मात्र आवश्यक नपर्ने देखाउँछ । बरु, किफायती, व्यवहारिक र सहज रूपमा विस्तार गर्न सकिने अभ्यासहरूले पनि उल्लेखनीय सुधार ल्याउन सक्छन् । यस्ता अभ्यासहरूमा विद्यालयको सशक्त र सहयोगी नेतृत्व, बालबालिकाको आवश्यकता अनुसार शिक्षण विधि अपनाउने शिक्षक, समावेशी कक्षाकोठा वातावरण, अभिभावक र समुदायसँगको अर्थपूर्ण सहकार्य, तथ्याङ्क तथा सूचनाको प्रभावकारी प्रयोग, र प्रत्येक बालबालिकाले आफूलाई स्वागतयोग्य, सम्मानित र सहयोग प्राप्त भएको महसुस गर्ने सकारात्मक विद्यालय संस्कृतिको निर्माण समावेश छन्।
यी निष्कर्षहरूले विद्यालयको गुणस्तर सुधारका लागि धेरै पैसा वा थप स्रोतसाधन मात्र आवश्यक पर्छ भन्ने सोचलाई प्रश्न गर्छन् । विद्यालयको नेतृत्व, शिक्षकको शिक्षण शैली, अभिभावक र समुदायको सहभागिता, तथा तथ्य र प्रमाणमा आधारित निर्णय प्रक्रियाले पनि बालबालिकाको सिकाइमा ठूलो फरक पार्न सक्छ भन्ने कुरा यसले देखाउँछ।
यी अभ्यासहरूलाई कसरी विस्तार गर्न सकिन्छ भन्नेबारेका सिकाइहरूलाई शिक्षा योजनामा समावेश गर्ने, समुदायस्तरदेखि राष्ट्रिय तथा विश्वव्यापी स्तरसम्म साझा गर्ने जस्ता क्रियाकलापले अन्य शिक्षा प्रणालीहरूलाई पनि प्रभावकारी अभ्यासहरू विस्तार गर्न सहयोग पुर्याउँछ। नीति निर्माता, विकास साझेदार, शैक्षिक अनुसन्धानकर्ता र समुदायको सहकार्यमा विकसित गरिएको यस परियोजनाले तथ्याङ्कमा आधारित समाधानहरूले सिकाइमा रूपान्तरण ल्याउन सक्छन् भनेर देखाउँछ, किनभने प्रत्येक बालबालिकाले जीवनमा उत्कृष्ट सुरुवात पाउनुपर्छ।
